ए डिभिजनका खेलाडीले झापा ११ बाट खेल्ने:एन्फा कप नकआउट प्रतियोगिता

ए डिभिजनका खेलाडीले झापा ११ बाट खेल्ने
बिर्तामोड
काठमाडौँको दशरथ रङ्गशालामा भदौ १५ गतेदेखि हुने एन्फा कप नकआउट फबल प्रतियोगितामा झापाले सहभागिता जनाउने भएको छ ।
झापा जिल्ला फबल संघको पहलमा प्रतियोगितामा सहभागी जनाउने टिमको नाम झापा ११ राखिएको छ । लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा सहभागी खेलाडीको नाम संघले मङ्गलबार सार्वजनिक गरेको हो । टोलीमा राष्ट्रिय स्तरको ए डिभिजन क्लबमा खेल्ने झापाका खेलाडी समावेश छन् । गतवर्ष सम्पन्न सहिद स्मारक लिगको उपविजेता मच्छिन्द्र क्लबबाट अधिकांश खेलाडी झापा ११ मा समावेश छन् ।

jhapa-anfa cup-practice

आरसीटीबाट भाग्य चम्काइसकेका प्रवेश कटुवालको कप्तानीमा मैदान उत्रने झापा ११ का लागि गोलरक्षक मच्छिन्द्रैका दिनेश थापामगर रहेका छन् । उनी २३ वर्षमुनिका राष्ट्रिय टोलीका गोलरक्षक पनि हुन् । त्यस्तै जावलाखेलबाट खेलेका मिनबहादुर बस्नेत र झापाका उदीयमान खेलाडी जनम थापा पनि गोलरक्षकमा रहेका छन् ।

त्यस्तै, मच्छिन्द्रकै कर्ण लिम्बू, विशाल राई 'ए', आरसीटीका युगलकिशोर राई, हिमालयन शेर्पाका दिनेश कार्की र झापाली खेलाडी विकी चौधरी झापा ११ का लागि फरवार्डका रुपमा रहनेछन् । हङकङ नेप्लिजका नरेन लिम्बू, थ्री स्टारका योगेश गुरुङ र जावलाखेल तथा सरस्वती क्लबबाट खेलिसकेका कुमार गिरी टिमको मिड फरवार्ड खेलाडी छन् ।

आरसीटी र सङ्कटाबाट खेलिसकेका सुविन मैनाली, मच्छिन्द्रका दिलेन लोक्ताम र देवेन्द्र तामाङ, सरस्वतीका सुरेन श्रेष्ठ, हङकङ नेप्लिजका ज्ञानबहादुर मगर र झापाका विकास राई झापा ११ का लागि डिफेन्स लाइनमा रहने वरिष्ठ फबल प्रशिक्षक भगिरथ आले 'मामा'ले जानकारी दिए ।

अखिल नेपाल फबल संघ (एन्फा) को आयोजनामा हुने प्रतियोगितामा झापा ११ सँगै लिग च्याम्पियन मनाङ, थ्री स्टार, सङ्कटा क्लब, विभागीय टोली नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी र पश्चिमाञ्चलको एउटा जिल्लाले सहभागिता जनाउनेछ । प्रतियोगिता विजेताले नगद १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ ।

टिम व्यवस्थापक टेकराज तिलिङका सबै खेलाडी प्रशिक्षणमा व्यस्त रहेका छन् । उनका अनुसार भदौ ११ गते टाइसिट सार्वजनिक भएपछि काठमाडौँ प्रस्थानको मिति तय हुनेछ ।

jhapa-anfa cup-practice1

प्रशिक्षक मामाका अनुसार फस्ट इलेभेन सेटमा कर्ण लिम्बू, विशाल राई 'ए', दिनेश कार्की, योगेश गुरुङ, नरेन लिम्बू, प्रवेश कटुवाल, सुविन मैनाली, दिलेन लोक्ताम, देवेन्द्र तामाङ, सुरेन श्रेष्ठ र दिनेश थापामगर रहेका छन् । अन्य खेलाडी अतिरिक्तमा रहेका छन् ।
राष्ट्रिय लिगमा विभिन्न ए डिभिजन क्लबबाट खेल्दै आएका झापाका खेलाडीलाई समेटेर भावी दिनमा 'होम टिम'को अवधारणा अघि सार्न पनि झापा ११ को निर्माण गरिएको झापा जिल्ला फबल संघका अध्यक्ष जलकुमार गुरुङले बताए ।

content:-jhapalifootball fb page